FAQs Complain Problems

संक्षिप्त परिचय

तानसेनको संक्षिप्त परिचय

तानसेन नगरपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पाल्पा जिल्ला र हालको लुम्बिनी प्रदेशमा पर्दछ । नेपालको पुरानो नगरपालिकाको रूपमा तानसेन नगरपालिकाको स्थापना वि.सं. २००७ साल चैत्रमा ११ वडा कायम गरी भएको हो । वि.सं. २०४८ सालमा ४ वडा थप गरी यस नगरपालिकामा १५ वडा कायम गरिएको थियो । त्यसपछि संघीय संरचना अनुसार २०७३/११/२२ मा साविकका तानसेन नगरपालिकामा, वराङदीका (२–६), मदनपोखरा, तेल्घा, बन्दिपोखरा, बौघापोखराथोक,बौघागुम्हा र अर्गली गा.वि.स.हरू समावेस गरी तानसेन नगरपालिकाको नयाँ संरचनामा १४ वडा कायम गरिएको छ । सेन वंशका दशौ पुस्ताका राजा चन्द्र सेनका छोरा रूद्र सेनले वि.सं. १५६३ मा पाल्पा राज्यकोस्थापना गरेका थिए । त्यस समयमा पाल्पाका शक्तिशाली राजाको रूपमा चिनिने रूद्र सेनले पाल्पा राज्यको विस्तार गरी आफ्नो राज्यको राजधानी तानसेनलाई बनाएको पाइन्छ । तानसेन नगरपालिका लुम्बिनी  प्रदेश  कै ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्त रमणीय क्षेत्रको रुपमा रहेको पाल्पा जिल्लाको सदरमुकाम हो । यहाँ स्थित सुन्दर श्रीनगरडाँडा १३७२  मिटरको उचाईमा रहेको छ । यो बुटवल देखि ३९ कि.मी. र काठमाण्डौ देखि ३१० कि.मी को दुरीमा रहेको छ । यसको भौगोलिक अवस्थिति २७.५० ° उत्तर देखि २७.५३ °उत्तरी अक्षांश  र ८३.३१  देखि ८३.३५ °पुर्वी देशान्तरमा रहेको छ । तानसेन नगरपालिका १०९‍.८ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ  र ५०,४०५  जनसंख्या रहेको छ । पूर्वमा बगनासकाली गा.पा. , पश्चिममा रिब्दीकोट गा.पा, उत्तरमास्याङ्गजा जिल्ला र दक्षिणमा तिनाउ गा.पा. रहेका छन ।

 

तानसेनको ऐतिहासिक पृष्ठभूमी

तानसेनको ऐतिहासिक पृष्ठभूमीअत्यन्त रोचक छ । मुसलमानहरुले भारतमा आक्रमण गर्दा धेरै राज्यका हिन्दु वंशहरु उत्तरी क्षेत्रतर्फ  भागेर आए । पन्ध्रौ शताब्दीमा तिनीहरु हिमाली प्रदेशतर्फ  प्रवेश गरे र तिनीहरुले आफनै छुट्टै राज्य स्थापना गरे । त्यस समयमा रुद्र सेनले पाल्पामा सेन वंशीय राज्य विस्तार गरे । जसको राजधानी तानसेन बन्न पुग्यो । पौराणिक किम्बदन्ती अनुसार तानसेन भन्ने शब्द सेन वंशका राजाको नामबाट ताम्रसेनको रुपमा रहेको थियो । जसले शहरी क्षेत्रमा मात्र राज्य गरेका थिए । अर्को मान्यता अनुसार मगर शब्द  तान्सिङ बाट तानसेन बन्न गयो । जसको अर्थ उत्तरी बस्ती भन्ने बुझाउँछ ।

विक्रम सम्बत १८८५/८६ तिर काजी बख्तावरसिंह पाल्पाको तैनाथवाला भई आएका थिए । वि.सं. १८८६ मै खरका छाप्राहरु तथा कच्ची घरहरु भएको तानसेनमा भयानक आगलागी भयो । विचल्लीमा परेका बासिन्दाहरुको निवेदन पछि भिमसेन थापाले व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्न र पक्की घर बनाएर बसेमा घरपतिले जग्गा बेच विखन गर्न पाउने,अमाली वा चौधरीले पजनी गर्न नपाउने आदेश दिए र वर्तमान तानसेन शहरको निर्माण शुरु भएको थियो ।

मगर जातीको प्रमुख थलोको रुपमा पाल्पा जिल्ला परिचित रहेता पनि तानसेन नगरमा नेवार, ब्राम्हण र क्षेत्री प्रमुख जातिको रुपमा रहेका छन । धार्मिकरुपमा   हिन्दु, बौद्ध, क्रिश्चियन र मुस्लिम धर्मावलम्बीहरुको बाहुल्यता  रहेको छ । प्रमुख राजमार्ग सिदार्थ राजमार्ग (सुनौली - पोखरा) ले छोएको छ ।

अमरसिंह थापाले निर्माण गरेको अमरनारायणको कलात्मक मन्दिर र अमरनारायण पौवा (अमरगञ्ज),उजिरसिंह थापाले निर्माण गरेको रणउजिरेश्वरी भगवती मन्दिर, खडग शमशेरद्वारा  निर्माण र प्रताप शमशेरद्वारा  पुननिर्माण गरिएको पाल्पा दरवार, बग्गी ढोका, मूलढोका, विजय स्तम्भ, सितलपाटी, अण्डाकार टुडिखेल मैदान, पश्चिमी शैलीमा निर्माण भएको त्रिभुवन बहुमुखी क्याम्पसको प्रशासकीय भवन, विरेन्द्रपार्क , ढुगा छापिएका सडक र गल्ली, पाल्पाली ढाका उद्योग,करुवा उद्योग,श्रीनगरडांडा, गुफाचौर , माण्डव्य तपोभुमी , पारीलेक वन आदि यहाँका दर्शनीय स्थल एवं महत्वपूर्ण संरचनाहरु हुन ।

जलवायु 

जलवायु को हिसावले तानसेन नगरपालिका अत्यन्त रमणीय स्थानको रुपमा परिचित छ । यसलाई नेपालको दार्जिलिङ्गको रुपमा पनि लिने गरिन्छ । यहाँ गर्मीको समयमा अधिकतम ३५ डिग्री सेल्सियस सम्म तापक्रम रहने र जाडो समयमा न्युनतम सुन्य डिग्री सम्म तथा औषत २४ डिग्री सेल्सियस तापक्रम रहने हुँदा न त धेरै जाडो न त धेरै गर्मी हुने गर्दछ । यहाँ जाडो महिनामा  विहानै घाम लाग्ने र गर्मी समयमा पनि शितलताको अनुभुति गर्न सकिन्छ ।

तानसेनबाट १६ कि.मी उत्तर तानसेन नगरपालिका वडा नं १३ स्थित  काली गण्डकी नदीको किनारमा खडग शमशेरद्वारा  प्रिय रानी तेजकुमारी देवीको सम्झनामा निर्माण गरिएको रानीघाट दरवार (नेपालको ताजमहल), श्रीनगर डाडा ,  दक्षिणमा रहेको साविक  ता.न.पा ११ हाल ता.न.पा ७ को प्रभास ताल ,ता.न.पा १० स्थित गुफा चौर , ता.न.पा १२ स्थिति कुइभीर  ,ता.न.पा १४ स्थित ऋषिकेश मन्दिर, पाल्पा दरवार, बग्गी ढोका, मूलढोका, विजय स्तम्भ, सितलपाटी, अण्डाकार टुडिखेल मैदान  दर्शनीय स्थलहरु हुन । जसबाट आन्तरिक पर्यटनले समेत बढावा पाएको छ ।